मलाई रातो गुलाफ अती मनपर्छ । छेवैको घरको वगैचामा पूर्णरुपले फक्रेर फुलीरहेको गाढा रातो गुलाफको फूल प्रती इगिंत गर्दै उनले भनिन मेरो मन गु...

छेवैको घरको वगैचामा पूर्णरुपले फक्रेर फुलीरहेको गाढा रातो गुलाफको फूल प्रती इगिंत गर्दै उनले भनिन मेरो मन गुलाफको फूल त्यस माथी पनि रातो रगंको देखेपछि त्यसै त्यसै आकर्षीत हुन्छ ।
मैले पुलुक्क एकपटक बगैचाको रातो गुलाफ तर्फ हेरे तर केही बोलीन ।
कसैले मेरो चुल्ठोमा रातो गुलाफ सिउरिदेओस यो मेरो इच्छा हो नभए मधुर दुई शब्द सँगै हातमा थमाइदीयोस, म साच्चै नै पग्लने थिए ।
यस पटक मैले उनको मुहारमा छड्के नजरले हेरे तर पनि केही बोलीन ।
हामी विद्यालयबाट फर्किरहेका थियौ । पढाई सकिएकाले । यो बर्ष हाम्रो विद्यालय अध्ययनको अन्तीम वर्ष थियो । म आफूलाई ठिकै दर्जामा राख्न चाहन्छु तर उनी म भन्दा निकै अब्बल थिइन पढाइमा ।
हम्रो विद्यालयी अध्ययनको उत्तरार्ध तीर आइपुग्दा उनले ज्यादा आफ्नो भविष्यको बारेमा कुरा गर्न थालेकी थिइन ।
तिमी भोली गएर के बन्ने सरोज ? उनले बेला बखतमा यस्ता प्रश्न गर्दथिइन र मेरो उत्तरको प्रतिक्षा नै नगरि बोल्थीन म त पाइलट बन्ने, साच्चै नै आकाशमा उड्नुको मजा नै फरक छ । त्यस माथी म महिलाले पनि केही गर्न सक्छीन है भनेर देखाउन चाहन्छु । यो मेरो सपना हो । जसरी भएपनी म यसलाई हकिकतमा देखाउन चाहन्छु । बोल्दा बोल्दै अनायासै उनी भावुक हुन पुदथिन । म फिस्स हास्दथे । उनको सपनाको कुरा समय व्यतीत गर्ने गफ जस्ता लाग्दथे । तर पनि मलाई के आभास थियो भने उनमा पाइलट बन्ने तिव्र चाहाना छ ।
समय सगैं हाम्रो विद्यालय अध्ययन पनि सकियो अब आफ्नो इच्छाको विषय छानेर पढ्ने लेख्ने समय आयो । उनी शहर गएर पाइलट सम्बन्धी शिक्षा लिने कुरा मलाई बारम्बार बताइरहन्थीन । तर म शहरमै काम गर्दै पढ्दै गर्ने व्यवस्था मिलाएर शहर जादाँ सम्म उनी गाउँमै थिइन । पछि थाहा लाग्यो चाह हुदाहुदै पनि आर्थीक अवस्थाका कारण उनी गाउँकै क्याम्पसमा पढ्न विवश भइन ।
लामो समयसम्म हाम्रो कुनै सम्पर्क हुन सकेन । कहिले काही म गाउँजादा उनले आफ्नो सपनाको कुरा गर्दा गर्दथिइन । तर उनको पहिलेको कुरा र अहिलेको कुरामा धेरै भिन्नता म प्रष्ट देख्दथे । पछी सपनाको कुरा गर्न पनि छाडीन । केही वर्ष पछि उनी स्थनीय विद्यालयमा शिक्षिका भइन भन्ने सुन्नमा आयो । यसको केही वर्षपछि उनलै विहे हुन लागेको र विवाहमा आउन निम्ता दिइन । समय मिलाएर म उनको विवाहमा पनि पुगे । कुनै समय थियो मैले उनलाई प्रेम गर्थेकी भन्ने म मा शंका थियो । तर उनको अहिले पल्लो गाउँको केटासगँ विवाह भएको थियो । उ पनि मास्टर अरे ।
म शहरमै भुले गाउँतर्फ ध्यान दिन पाइन । यसरी विना सम्पर्क धेरै वर्षहरु विते । एक दिन विहानै मैले उनको मृत्यु भएको खबर मेरो भाईको मुखबाट सुने । म झसगँ भए । उनी बितेको महिना दिन भइसकेको रहेछ । यो खबरले म दुःखी भए । आखाँमा बाल्यकालका दिनहरु नच्न थाले । म तुरुन्तै गाउँमा पुगे । थाहा भयो, रुखबाट लडेर उनको मृत्यु भएको रहेछ । टाउकोमा नराम्रोसगँ चोट लागेको थियो अरे ।
गाउँ पुगेको भोलीपल्ट साझँ म उनको चिहान तर्फ लागे । उनलाई गाडीएको ठाउँ माथी एउटा ठूलो ढुगाँ राखीएको थियो । धेरै बेरसम्म म त्यही ढुगाँमाथी बसीरहे । झ्याउकीरीहरु कराउन सुरु गरिसकेका थिए । यो गोधुली साझ थियो । म जुरुक्क उठे । अनी हातमा समाइरहेको गाढा रातो गुलाफ त्यही ढुगाँमाथी विस्तारै राखिदिए जुन उनलाई औधि मन पर्दथ्यो । र, कुनै समय यहीँ गुलफ उनको चुल्ठोमा सिउरीदिने मेरो इच्छा थियो ।
मैले एकपटक हावाले हल्लाइरहेको रातो गुलाफ तर्फ हेरे र सरासर आफ्नो बाटो तर्फ लागे ।
- केशर भण्डारी
(२०६८/११/२२)
COMMENTS