भनिन्छ प्रेममा शक्ति हुन्छ । त्यो असिम शक्तिले सबैथोक परिवर्तन गरिदिन सक्छ । यहाँ म कुनै युवायुवतीको कहानी भन्न गइरहेको छैन, एउटा सानो प्र...
भनिन्छ प्रेममा शक्ति हुन्छ । त्यो असिम शक्तिले सबैथोक परिवर्तन गरिदिन सक्छ । यहाँ म कुनै युवायुवतीको कहानी भन्न गइरहेको छैन, एउटा सानो प्रयोगको उदाहरण प्रस्तुत गर्न गइरहेको छु ।
लुथर बुरबाङ्क विख्यात वनस्पतिशास्त्री हुन् । उनले आफ्नो अगाध प्रेमद्वारा क्याटकस (सिउडी) को मन जितेका थिए । उनले वनस्पतीहरूका बीचमा काम गर्दागर्दै एउटा काँढेदार सिउडीमाथि अनौठो प्रयोग गरे । काँढेदार सिउडीलाई उनले यति धेरै माया गरे कि उनी दिनदिनै उसको नजिक जान्थे र भन्थे, 'प्रिय क्याटकस ! म तिम्रो सबैभन्दा प्यारो, सबैभन्दा नजिकको संरक्षक हु । तिम्रो असल साथी हु । तिम्रो शरीरमा तिमीले जुन काढाँ उमारेका छौ, त्यो शत्रूबाट सुरक्षित हुन बनिएको हो । अब मसँग मेरो सान्निध्यमा रहेपछि तिम्रो जीवनमा कुनै पनि खतरा छैन । कुनै पनि खालको असुरक्षा तिमीले महसुस गर्नुपर्दैन । तिमी मलाई विश्वास गर अनि तिमी आफ्नो सुरक्षामा ढुक्क होउ । अब तिमीले काँढा उमारीराख्नु पर्नेछैन प्रिय क्याटकस । ममाथी भरोसा गर । तिम्रो असली पहरेदार म छु । अब कुनै पनि डर नमान प्रिय ।'यसरी बुरबांकले उक्त सिउडीलाई दिनको दिन आश्वस्त बनाउन थाले । माया प्रकट गरिरहे । यसरी निरन्तर हेरचाह गरे कि उनको अतिशय प्रेम र सुझावले क्याटकसका कोषहरूमा सकारात्मक समवेदना जाग्न थाल्यो । उनले लगातार सात वर्षसम्म हजारौ, लाखौ चोटि सिउडीको उक्त बोटलाई सुरक्षाको आभास दिलाइरहे । सात वर्षपछि एकदिन वनस्पती जगतमा अनौठो घट्न घट्यो । उक्त क्याटकसको नयाँ उत्पादनमा बिलकुलै काँढा देखिएन । इतिहासमै पहिलोपटक काँढारहित सिउडी जन्मियो । महान् बुरबांक आफ्नो प्रयोग सफल भएकोमा अत्यन्त खुसी भए । उनले विश्व प्रेम र सद्भावको महान् उदाहरण संसारलाई प्रदान गरे ।
हो, प्रेमले हर कसैको मन जित्न सक्छ, सद्भावले कसैको जिन्दगी नै बदल्न सक्दछ । माथीको सतत प्रयोगले यो सिद्ध गर्दछ । साथै अर्को के कुरा पनि प्रमाणित हुन्छ भने नियमीत दिइने सुझावले जाँदुको झै काम गर्दछ । अस्तु ।
- यात्री केशर
COMMENTS