लेखक : ज्याक क्यान फिल्ड १९८९ मा अर्मेनियामा भयानक भूकम्प आयो । रेक्टर स्केलले ८.२ शक्तिको देखाएको थियो । यो भूकम्पले अर्मेनियालाई बर्बाद गर...
लेखक : ज्याक क्यान फिल्ड
१९८९ मा अर्मेनियामा भयानक भूकम्प आयो । रेक्टर स्केलले ८.२ शक्तिको देखाएको थियो । यो भूकम्पले अर्मेनियालाई बर्बाद गरिदियो र चार मिनेटभन्दा पनि कम समयमा ३०,००० मानिस मरे ।
भूकम्प आइसकेपछि हल्लाखल्ला मच्चियो एउटा मानिसले आफ्नो पत्नीलाई सुरक्षित रुपमा घरमा राख्यो र स्कुलतिर दौडियो, जुन स्कुलमा उसको छोरा पढ्न गएको थियो । त्यहाँ पुगेर उसले हेर्यो, भवन पूर्णरुपमा ध्वस्त भइसकेको थियो ।
शुरुमै ऊ हतास भएन, उसलाई आफ्नो छोराको याद आयो, उसले आफ्नो छोरासँग वाचा गरेको थियो, “चाहे जस्तोसुकै परिस्थिति होस तर म तिमीलाई लिन आउनेछु !” यो कुरा याद गरेर उसको आँखामा आँसु आयो । जब उसले पहिला भवन भएको ठाउँमा हेर्यो तब त्यो ठाउँमा भवनको थुप्रो बनेको देख्यो र उसलाई कुनै आशा लागेन । निराशाजनक स्थिति देखिरहेको थियो, तर उसले आफ्नो छोरासँग जसरी पनि उसलाई लिन आउने वाचा गरेको थियो ।
उसलाई याद आयो, ऊ हरेक दिन बिहान आफ्नो छोरालाई कुन क्लासमा छोडेर जाने गथ्र्यो । उसलाई याद आयो, छोराको क्लास रहेको भवन दायाँ तिरको कुनामा थियो । ऊ दौडदै त्यहाँ पुग्यो र इँटा बालुवा हटाउन थाल्यो । जब ऊ भत्केको भवनका टुक्राहरु हटाइरहेको थियो तब अरु आमा बाबुहरु आए र आफ्नो छातीमा हात राख्दै भन्न थाले, “मेरो छोरा ! मेरो छोरी !” अरु आमा–बाबुले उसलाई त्यहाँबाट हटाउने कोसिस गर्दै भन्न थाले, “अब धेरै ढिलो भइसक्यो !”
“ऊ मरिसक्यो होला !”
“तपाईंं केही गर्न सक्नु हुन्न !”
“घर फर्केर जानुस् !”
“हिंड्नुस्, यथार्थको सामना गर्नुस्, तपाईं यहाँ केही गर्न सक्नु हुन्न !”
“तपाईंं स्थितिलाई झन बिगार्दै हुनु हुन्छ !”
सबै आमा–बाबुसँग उसले एउटा मात्र कुरा भन्यो, “के तपाईंंहरु मेरो मद्दत गर्नु हुन्छ ?” र फेरि ऊ आफ्नो छोरालाई खोज्नको लागि एउटा–एउटा ढुंगा निकाल्न थाल्यो ।
फायर ब्रिगेडको प्रमुखले उसलाई स्कुलको थुप्रोबाट हटाउने कोसिस गर्दै भने, “जहाँतहीं आगो लागिरहेको छ, सबैतिर विस्फोट भइरहेको छ, तपाईंंको ज्यानलाई खतरा छ । यो काम हामी गर्नेछौं । तपाईंं घर फर्केर जानुस् ।” यो कुरा सुनेर छोरालाई माया गर्ने बाबुले भन्यो, “के तपाईंंहरु मेरो मद्दत गर्नु हुन्छ ?”
फेरि पुलिस आयो र भन्यो, “तपाईंं मानसिक रुपले तनावग्रस्त हुनु हुन्छ र रिसाइ पनि रहनु भएको छ । सबै कुरा सकिसकेको छ । तपाईंले अरुको लागि पनि खतरा उत्पन्न गरिरहनु भएको छ । घर फर्केर जानुस् । हामी स्थिति सम्हाल्ने छौं !” यो कुरा सुनेर बाबुले जवाफ दिए, “के तपाईंं मेरो मद्दत गर्नुहुन्छ ?” तर कसैले पनि मद्दत गरेनन् ।
ऊ हौसला राखेर काममा जुटिरह्यो, किनकि उसले आफ्नो आँखाले हेर्नु थियो “मेरो छोरो जिउँदो छ कि छैन?”
उसले ८ घण्टासम्म खन्यो... १२ घण्टासम्म... २४ घण्टासम्म... ३६ घण्टासम्म... फेरि ३८ औं घण्टामा उसले एउटा ठूलो ढुंगा हटाएपछि आफ्नो छोराको आवाज सुन्यो । उसले कराएर आफ्नो छोराको नाम बोलायो, “आर्मेण्ड... !”
उसले आवाज सुन्यो, “म यहाँ छु, ड्याडी ! मैले सबै बच्चाहरुलाई भनेको थिएँ, उनीहरुले चिन्ता गर्नु पर्दैन । मैले भनेको थिएँ, यदि तपाईंं जिउँदो हुनु भएको भए मलाई बचाउन अवश्य आउनु हुनेछ र जब मलाई बचाउनको लागि तपाईं आउनु हुनेछ तब उनीहरु पनि बाँच्नेछन् । तपाईंले वाचा गर्नु भएको थियो, ‘चाहे जे होस्, म तिमीलाई सधैं लिन आउनेछु !’ तपाईंंले आफ्नो वाचा पूरा गर्नु भयो, ड्याडी !”
बाबुले सोधे, “भित्र के भइरहेको छ ? कस्तो हालत छ ?”
“हामी ३३ मध्ये सिर्फ १४ जना मात्र बाँचेका छौं, ड्याडी । हामी डराएका छौं र भोकै प्यासै छौं । तर हामीलाई खुसी लागेको छ, तपाईंं यहाँ आउनु भयो । जब यो भवन भत्कियो तब एक प्रकारको त्रिकोण बन्यो जसले गर्दा हामी बाँच्न सफल भयौं ।”
“बाहिर निस्क छोरा !”
“हैन, ड्याडी ! तपाईंं पहिला अरु बच्चाहरुलाई बाहिर निकाल्नुस्, किनकि मलाई थाहा छ मलाई त तपाईंंले अवश्य नै बाहिर निकाल्नु हुनेछ ! मलाई थाहा छ चाहे जे भए पनि तपाईं सधैं मलाई लिन आउनु हुन्छ !”
ज्याक क्यान फिल्ड र मार्क भिक्टर हेन्सनको बेस्टसेलर पुस्तक “चिकेनसुप फर सोल”बाट
COMMENTS