Menu

जिड्डू कृष्णमूर्ति (१८९५–१९८६) को जन्म भारतमा भएको थियो र उनको शिक्षादीक्षा इंग्ल्यान्डमा भयो । उनले पूरा विश्वमा प्रवचन दिए । कुनै जाति, राष्ट्रियता अथवा धर्ममा उनले आफ्नो निष्ठा घोषित गरेनन् । उनी कुनै पनि परम्परासँग आबद्ध भएनन् ।  २०,००,००० भन्दा बढी शब्दका उनको शिक्षण ७५ भन्दा बढी पुस्तक र ७ सय भन्दा बढी अडियो तथा १२ सयभन्दा बढी भिडियो क्यासेटका रुपमा प्रकाशित भइसकेका छन् । अहिलेसम्म २२ भाषामा उनका पुस्तकहरु ४० लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन् । दलाइ लामा एवं मदर टेरेसाको साथसाथै कृष्णमूर्तिलाई ‘टाइम’ पत्रिकाले बीसौं शताब्दीका पाँच सन्तहरुमध्ये एकमा घोषित गरेको थियो । 

जे. कृष्णमुर्ती
आफ्नो ९० वर्षको जीवनमध्ये ६५ वर्ष कृष्णमूर्तिले विश्वयात्रा गर्दै विपुल श्रोता समूहहरुका समक्ष बिना कुनै पूर्वनिर्धारित विषय या तयारी सहजरुपमा प्रवचन दिंदै रहे । हरेक प्रकारको आध्यात्मिक तथा मनोवैज्ञानिक दाबेदारीलाई उनले खारेज गर्नुका साथै उनी स्वयंलाई पनि मानिसहरुले कुनै पनि कुराको आधिकारिक नमानुन् भन्ने आग्रह उनको आधारभूत विषय थियो । उनले भने कि मानिसले स्वबोधको माध्यमबाट आफूसँग परिचय गर्दै स्वयंलाई भय, पूर्वसंस्कार, सत्ता प्रामाण्य र रुढीवादीताबाट मुक्त गर्नुपर्छ । उनका अनुसार यसले व्यक्तिमा व्यवस्था र वास्तविक मनोवैज्ञानिक परिवर्तन आउँछ । संघर्ष–आरुढ यो हिंस्रक संसारलाई कुनै पनि राजनीतिक, सामाजिक या आर्थिक रणनीतिद्वारा भलाइ, प्रेम र करुणा सम्पन्न जीवन प्रदान गर्न सकिंदैन । कुनै पनि गुरु अथवा संगठित धर्मबिना नै व्यक्तिद्वारा स्वयंको अवलोकन गर्नाले मात्र यो आमूल परिवर्तन आउन सक्छ ।

एक मौलिक दार्शनिकका रुपमा कृष्णमूतिको महत्वले परम्परावादी एवं गैरपरम्परावादी विचारक र दार्शनिकहरुलाई समान रुपमा आकर्षित गरेको छ । विभिन्न राष्ट्राध्यक्ष, डेविड बोमजस्ता प्रमुख भौतिक वैज्ञानिक, मनोचिकित्सक, मनोवैज्ञानिक, धार्मिक नेतागण र प्रोफेसर कृष्णमूर्तिसँग संवाद गर्नको लागि उनीसँग सम्बन्धित रहन्थे । छात्र, अध्यापक र प्रत्येक क्षेत्रका लाखौं मानिसहरु उनलाई सुन्न आउँथे र उनका पुस्तकहरु पनि पढ्थे । कुनै प्रकारको जटिलताबिना कृष्णमूर्तिले विज्ञान र धर्मका बीचमा सेतु निर्माण गरे । त्यसैले वैज्ञानिक र सामान्यजन दुवैले नै, समय, विचार, अन्तर्दृष्टि र मृत्युसम्बन्धी उनको प्रवचन बुझ्न सके । 

उनले स्वयं नै आफ्नो र आफूले दिएको शिक्षाको महत्व प्रकट गर्न र शिक्षाको व्याख्या गर्ने अधिकार नदिइकन त्यसलाई विकृत हुनबाट बचाउन र त्यो शिक्षा उपलब्ध गराइरहने निश्चित भूमिकाका साथ यू.एस.ए., भारत, इंग्ल्यान्ड, क्यानडा र स्पेनमा फाउण्डेशन स्थापना गरे । 

भारत, इंग्ल्यान्ड र यू.एस.ए.मा अनेक स्कुलहरु स्थापित गर्दा कृष्णमूर्तिलाई दृष्टिबोध थियो कि शिक्षा केवल शास्त्रीय बौद्धिक कौशलमाथि निर्भर रहँदैन, अपितु मनमस्तिष्कलाई बुझ्नलाई पनि बल दिनुपर्ने आवश्यक हुन्छ तथा शिक्षा केवल जीवनयापनहेतु प्राविधिक कुशलतामात्र नसिकाएर मानिसहरुलाई बाँच्ने कुशलता पनि सिकाउनुपर्छ । 
कृष्णमूर्तिले भनेका छन्, ‘निश्चय नै स्कुल एक यस्तो स्थान हो जहाँ हामी जीवनको सम्पूर्णता र समग्रताको बारेमा सिक्दछौं । ज्ञान–विज्ञानसम्बन्धी उत्कृष्टता नितान्त आवश्यक छ । परन्तु एउटा स्कुल योभन्दा कैयौं अधिक अर्थोक केही पनि हो । यो त्यो स्थल हो जहाँ शिक्षक र शिक्षार्थी केवल बाह्य जगत र जानकारीको दुनियाँको मात्र अन्वेषण गर्दैनन् । बरु उनीहरु आफ्नो विचार र व्यवहारको पनि अन्वेषण गर्दछन् ।’

उनले स्वयं नै आफ्नो र आफूले दिएको शिक्षाको महत्व प्रकट गर्न र शिक्षाको व्याख्या गर्ने अधिकार नदिइकन त्यसलाई विकृत हुनबाट बचाउन र त्यो शिक्षा उपलब्ध गराइरहने निश्चित भूमिकाका साथ यू.एस.ए., भारत, इंग्ल्यान्ड, क्यानडा र स्पेनमा फाउण्डेशन स्थापना गरे । 

आफ्नो कार्यको विषयमा उनले भनेका छन्, ‘यहाँ कुनै पनि विश्वासको कुनै माग या अपेक्षा छैन, यहाँ अनुयायी छैनन्, यहाँ कुनै वाद र सम्प्रदाय छैन, यहाँ कुनै पनि दिशामा उन्मुख गर्नको लागि कुनै पनि प्रकारले फुस्ल्याउने र प्रेरित गर्ने कुरा छैन र त्यसैले हामी सबै एउटै धरातलमा छौं, एउटै आधार र एउटै स्तरमा भेट्छौं । किनकि त्यसैले हामी सबै एकसाथ मिलेर मानव जीवनका अद्भुत घटनाहरुको अवलोकन गर्न सक्छौं ।’

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top